पोखरा– सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखराको गगनगौडामा फेला परेका छन्।
कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले हायु परिवारका १६ जनालाई नै गगनगौडामा फेला पारेको जानकारी दिए।
एसपी ओलियाका अनुसार उनीहरू गाडी रिजर्भ गरेर पोखरा आएका थिए। उनीहरू शनिवार लेकसाइडस्थित होटेल जननीमा बसेका थिए। आइतबार उक्त होटेलबाट निस्किएका उनीहरू आज गगनगौडामा भेटिएका हुन्।
'प्रारम्भिक रुपमा कुराकानी गर्दा २० हजार रुपैयाँमा गाडी भाडामा लिएर सपरिवार उनीहरू पोखरा आएका रहेछन्। शनिबार लेकसाइडमा रहेको होटल जननीमा बसेर आइतबार निस्किएको देखिन्छ,' उनले भने, '१६ जना हराइरहेको समाचार सोमबार प्रकाशन र प्रसारण भएपछि होटल सञ्चालक सुनिल भुर्तेलले हामीलाई जानकारी गराए। त्यसपछि सीसीटीभीको आधारमा उनीहरूको लोकेसन पत्ता लाग्यो।'
स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा भेटिएको एसपी ओलियाले बताए।
उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताउँदै डेरा लिएका थिए। 'उनीहरू दुई घरको डेरामा बाँडिएर बसेको देखिएको छ,' एसपी ओलियाले भने, 'थप सोधपुछका लागि डाँडाको नाक प्रहरी चौकीमा ल्याउँदै छन्। त्यसपछि परिवारको सदस्यको जिम्मा लगाउँछौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।