काठमाडौं– विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई वारेस राख्ने अनुमति दिन नमिल्ने आदेश दिएको छ । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालले वारेस सुविधा मागे पनि अदालतले उक्त सुविधा दिन नमिल्ने जनाएको हो ।
सोमबार विशेष अदालतका सदस्य तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले नेपालमाथि तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने कसुरको अभियोग लागेकाले वारेस राख्ने अनुमति दिन नमिल्ने आदेश सुनाएको हो ।
नेपालले राजनीतिक कार्यक्रममा देशका विभिन्न स्थानमा पुग्नु पर्ने कारण देखाई 'वारेस राख्ने अनुमति पाउँ' भन्ने बेहोराको निवेदन अदालतमा दिएका थिए ।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ मा विशेष अदालतमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।
गत असार १२ गते भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री नेपाललाई विशेष अदालतले ३५ लाख धरौटी बुझेर छाड्न आदेश दिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।