काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत् उपभोक्ता महासङ्घलाई ठुलो आयोजनामा लगानी गर्न आग्रह गरेका छन्।
आज सामुदायिक विद्युत् उपभोक्ता महासङ्घको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन्।
करिब तीन सय संस्था आबद्ध नेपाल विद्युत् उपभोक्ता महासङ्घले सबै संस्थाहरूबाट रकम एकीकृत गरी ठुलो परियोजना सञ्चालन गर्न सक्ने उनले बताए।
लगभग सतप्रतिशत विद्युत् पुगेको भन्दै अबको आवश्यकता गुणस्तरीय सेवा भएको मन्त्री खड्काको भनाइ छ। २४ घण्टा विद्युत् आपूर्ति गर्नुपर्ने दबाब र चाहना रहेको उल्लेख गर्दै उनले आवश्यक पर्ने विद्युत् आफैँ उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन आग्रह गरे। त्यसका लागि ठुलो आयोजनामा लगानी गर्न उनले सुझाव पनि दिए।
मन्त्री खड्काले देशको आवश्यकताअनुसार महासङ्घले आफूलाई बदल्नुपर्नेमा जोड दिए। सबै मिलेर लगानी गर्न सके ठुलो परियोजना सञ्चालन हुने र सरकारको समृद्धिको चाहनामा मद्दत पुग्ने मन्त्री खड्काले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।