काठमाडौं– चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा चिनियाँ पक्षले भोलिदेखि औपचारिक रूपमा बेलिब्रिज निर्माण सुरु गर्ने भएको छ।
नेपाल सरकार र चीनबीच भएको समझदारी अनुसार चिनियाँ पक्षले बेलिब्रिज निर्माण सुरु गर्न लागेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार चिनियाँ पक्षले आगामी भदौ ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्ने छ।
सीमा नाकामा अवरुद्ध सडक सम्पर्क शीघ्र सुचारु गर्न अस्थायी रूपमा बेलिब्रिज निर्माणका लागि आज रसुवाका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले निर्माणस्थलको अवलोकन गरेको थियो।
गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा क्षति भएको थियो। जसले गर्दा सीमा नाकाबाट हुने नेपाल-चीन सडक सम्पर्क टुटेको छ।
यसैगरी रसुवा र चीनका स्थानीय अधिकारी बीचमा निर्माणस्थलबाटै भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकका क्रममा विपदको समयमा भएका उपद्वार, राहत एवम् विपदपश्चातको पुनर्निर्माण र पुनर्स्थापनाका विषयमा विस्तृत रूपमा द्विपक्षीय छलफल भएको छ।
चीनले यसअघि केरुङमा अड्किएका दुई बालबालिकासहित २०५ जना तातोपानी नाका हुँदै नेपाल ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।