काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज काठमाडौँ सितापाइलाको सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै शिक्षक सङ्गठनको प्रशिक्षण कार्यक्रममा सम्बोधन गरेका छन्।
‘कुलिङ अफ पिरियड २ वर्ष सर्वसम्मत भएको हो तर, अहिले सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रिय सभामा पहिला भन्दा त सबैले संशोधन राख्ने, २ वर्षे कुलिङ अफ पिरियडको पक्षमा भन्ने थियो’ उनले भने, ‘तर अहिले त्यो राख्न हुन्न भनेर लास्टमा गएपछि चीज के रहेछ भने बिरालोले अन्तिममा म्याउँ गरि छाड्यो भने जस्तै एमालेले म्याउँ गरि नै हाल्यो।’
प्रचण्डले एमालेको नियत नै निजामती विधेयकमा छेडखानी र षड्यन्त्र गर्ने रहेको देखिएको आरोप लगाए । ‘उस (एमाले) को नियत नै रहेछ यसका विरुद्ध षड्यन्त्र गर्ने। त्यसकारण मैले भनेको छु यसको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनु पर्दछ,’ उनले भने ।
राजनीतिक सङ्कटबारे चर्चा गर्दै प्रचण्डले कांग्रेस र एमाले दुवै पार्टीमा वैचारिक नेतृत्वको खडेरी रहेको समेत बताए। ‘एमालेभित्र वैचारिक सङ्कट छ, जबजको उत्तराधिकारीको अन्योल छ,’ उनले भने। अध्यक्ष ओलीले मदन भण्डारीसम्बन्धी बोलेका कथित अभिव्यक्तिहरूलाई समेत आलोचना गर्दै वैचारिक दिशाहीनता देखिएको उनको भनाइ थियो।
प्रचण्डले माओवादी केन्द्र भने अहिले पनि जनतासँग जोडिने प्रयासमा सक्रिय रहेको बताउँदै भने, ‘हामी अहिले आठौँ महाधिवेशनको नीति र विचारअनुसार जनतासँग प्रत्यक्ष सम्पर्कको अभियानमा छौँ। यही वैचारिक स्पष्टता हाम्रो बल हो। अहिले माओवादी केन्द्र मात्रै यस्तो पार्टी हो जहाँ वैचारिक राजनीतिक नेतृत्वको सङ्कट छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।