काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिएका छन् ।
४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी भएको उल्लेख गर्दै समाज बदल्ने सपना बोकेकाहरुले उहाँका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिएका हुन् ।
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे ।
उनले समृद्धि नेपाल, सुखी नेपाली र समाजवादलाई ठिक ढंगले परिभाषित गर्ने कामको पृष्ठभूमि पुष्पलालले स्थापीत गरेको विचारहरुमा पाइने बताए ।
कार्यक्रममा नेताहरुले पुष्पलालको तस्वीरमा माल्यार्पण गरेका थिए । रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्लमाक्र्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए ।
उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उनको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।