काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको भिन्न मतप्रति उदार हुने आफ्नो कमजोरी भएको बताएका छन् ।
पुष्पलाल स्मृति दिवसका अवसरमा समाजवादी मोर्चाले बुधबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले आफूले सधै फरक मत र विचारलाई सम्मान गर्ने गरेको भन्दै भिन्न मतप्रति उदार हुने आफ्नो कमजोरी भएकाले पार्टीभित्र आफ्नो आलोचना हुने गरेको समेत बताए ।
प्रचण्डले ३६ वर्ष कम्युनिष्ट आन्दोलन र माओवादीको नेतृत्व गर्दा आफूले किरण, बाबुराम, बादल लगायत कुनै नेताहरुमाथि कारबाही नगरेको उल्लेख गरे । अहिले पनि पार्टीका केही नेताहरुले सिंगोरी खेल्न खोजेको भन्दै प्रयाप्त सिंगोरी खेल्ने मौका दिएको उनले बताए ।
प्रचण्डले सिंगोरी खेल्न खोज्ने नेताहरुलाई डेड महिना परामर्श भन्दै देशभर सँगै लिएर हिँडेको जिकिर गरे । त्यस्तै उनले दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक रहेको उल्लेख गर्दै आफूले कम्युनिष्टहरूको एकताको झण्डा बोकेको तर्क गरे ।
वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएकाले त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई संस्थागत गर्दै अगाडि बढ्नका लागि पुष्पलालको विचारलाई मूल मार्गदर्शक मान्नुपर्ने धारणा व्यक्त गरे ।
त्यस्तै उनले सबै कम्युनिष्ट शक्तिहरूलाई दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्न आह्वानसमेत गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।