काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व सम्हाल्दासमेत देशको अवस्था राम्रो हुन नसकेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा समाजवादी मोर्चाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री हुँदा पनि देशको अवस्था राम्रो हुन नसकेको र परिणामदायी काम हुन नसकेकाले जनतामा निराशा छाएको बताएका हुन् ।
देशको राजनीतिक, सामाजिक र आर्थिक विषयमा बहस हुन जरुरी रहको उनको भनाइ थियो । त्यस्तै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा चुनौती देखिए सामना गर्ने साहस देखाउनुपर्नेमा जोड दिए ।
उनले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन व्यक्ति भन्दा पनि नीति र सिद्धान्त महत्वपूर्ण रहेको बताए ।
त्यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलको कम्युनिष्ट आन्दोलन वर्गविश्लेषणबाट नभइ जालझेलबाट अघि बढिरहेको बताए । कम्युनिष्ट आन्दोलनमा देखिएको विकृति विसंगतिलाई अन्त्य गर्न कम्युनिष्ट नेताहरु गम्भीर हुनुपर्नेमा जोड दिए ।
उनले बद्लिएको परिस्थिति अनुसार सामाजिक न्याय, समानताका आधारित समाज नबनाएसम्म समाजवादको कुनै कल्पना गर्न नसकिने जिकिर गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।