काठमाडौं– नेकपा एमालेमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष निकालेपछि सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएका छन्।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीको सदस्यता नवीकरणको विषयलाई स्थगित गरेको बताएका हुन्।
विधान अनुसार केन्द्रीय कमिटी बैठकले नै सदस्यता नवीकरणबारे निर्णय लिने भन्दै केन्द्रीय कमिटीले नै भण्डारी राजनीतिमा आउन आवश्यक नठानेकाले सदस्यताको विषयमा प्रवेश गर्नै नपर्ने उनले बताए।
‘हामीले निष्कर्ष ( पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने) निकालेका छौं। हामीले यो निष्कर्ष निकालेपछि सदस्यताको विषय स्वत: निष्क्रिय भएको छ। सदस्यता नवीकरणको विषयलाई हामीले स्थगित गरेका छौं,’ पोखरेलले भने।
एक वर्ष अघि नै नवीकरण भएको सदस्यताको विषय छलफलकै आधारमा सार्वजनिक नगरिएको पनि उनले बताए। तर, भण्डारी आफैंले यो विषय सार्वजनिक गरेपछि पार्टीले निर्णय लिएको पोखरेलको भनाइ थियो।
‘स्वभाविक रुपमा उहाँले सदस्यता नवीकरणका लागि प्रतिवेदन पठाउनुभएको र शुल्क बुझाउनुभएको जानकारीमा आएकै छ। उहाँले सदस्यता नवीकरण गरिसकेपछि यो विषयलाई सार्वजनिक नगरौं, यो विषय विशेष विषय हो,’ पोखरेलले भने, ‘पार्टीका तर्फबाट यसलाई सार्वजनिक गर्न हुँदैन, छलफल गर्नुपर्छ। उपयुक्त समयमा पार्टीले छलफल गर्नुपर्छ भनेर सार्वजनिक नगरेको हो। पूर्वराष्ट्रपति स्वयं आफैंले सार्वजनिक गरेपछि पार्टीले केही भन्नुपर्थ्यो।’
केन्द्रीय कमिटीले नै पूर्वराष्ट्रपति भण्डारीको फरक भूमिका आवश्यक ठानेको उनले बताए।
उनले सभामुख राजनीतिक जिम्मेवारी भएको जिकिर गर्दै पूर्वराष्ट्रपतिसँग जोडेर हेर्न नमिल्ने बताए।
उनले भने, ‘संविधानले सभामुखको हकमा प्रतिनिधि सभाको सदस्य कायम हुनुपर्ने भन्छ। तर राष्ट्रिपति भएपछि प्रतिनिधि सभा सदस्यबाट पनि राजीनामा दिनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।