काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन्।
सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन्।
बर्तौलाले भने, ‘प्रधानमन्त्रीज्यूको आज प्रश्नोत्तरमा सहभागी हुने नियमित कार्यसूची रहेको छ। त्योभन्दा अघि उहाँले विशेष सम्बोधन गर्नुहुनेछ। सम्बोधनमा सरकारको काम, वर्तमान राजनीतिक परिस्थिति र तथा प्रतिपक्षी दलका नेता गर्नुभएको सम्बोधनको जवाफलगायत विषय समावेश हुनेछन्।’
प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।
विशेष सम्बोधनपछि ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।