काठमाडौं– नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरुले वर्तमान सरकारले गठबन्धनको भावनाअनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
सोमबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री समेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको कांग्रेसका पूर्वपदाधिकारीको छलफलले अहिलेको सरकार एमाले–कांग्रेस गठबन्धन मिलेर बनेकाले गठबन्धनको भावनाअनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले जानकारी दिए ।
अहिलेको गठबन्धन ८४ को निर्वाचनसम्मै जाने भएकाले विश्वासको आधारमा काम गर्नुपर्ने उनले बताए । सरकारले प्रभावकारी ढंगले जनताको हितमा काम गर्नुपर्छ भनेर नेता सिंहलाई भनेको र सिंहले यस बिषयमा प्रधानमन्त्रीसँग कुरा गर्ने सिटौलाले बताए ।
त्यस्तै उहाले कांग्रेस एमालेबिचको सात बुँदे सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भनिए पनि अझै सुरु हुन नसकेको भन्दै अब संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए ।
नेताहरुबीच भएको छलफलका बारेमा पार्टी सभापति शेरबहादुर देउवालाई समेत भेटेर जानकारी गराउने सिटौलाको भनाइ छ । छलफलमा नेता सिंह, सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, डा.शशांक कोइराला र डा प्रकाशशरण महत सहभागी हुनुहुन्थ्यो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।