काठमाडौं– नेकपा एमालेका केन्द्रीय कमिटी बैठक सुरू भएको छ।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदाबारे छलफल हुनेछ।
बैठकको सुरुवमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक, सरकारको एकवर्ष, पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकका निर्णयबारे जानकारी गराउनेछन्।

महासचिव शंकर पोखरेलले सांगठनिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधान छलफलमा प्रवेश गर्नेछ।
पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन्।
प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइएको बताइएको छ। सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरूले मात्र बैठकमा बोल्ने अवसर पाउने छन्।
पार्टीको साउन १ गते बसेको सचिवालय,२ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव गरिसकेको छ। उपाध्यक्ष पौडेलले विधानका यी विषयहरू पनि समेटेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन्।

केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटी कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ। भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।