काठमाडौँ– नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संघीय निजामती विधेयकमा नेकपा एमालेका सांसदहरूले हालेको संशोधन आपत्तिजनक भएको बताएका छन्।
गठबन्धनका दलहरूबीच भएको सहमति विपरीत संशोधन हाल्नु एमालेको दोहोरो चरित्र मात्रै नभएर देश, जनता, लोकतन्त्र र गठबन्धनलाई धोका भएको बताएका हुन्।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भनेका छन्,‘नेकपा एमालेका सांसदहरुले राष्ट्रिय सभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ,गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मति विपरीत यसरी आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो।’
उनले एमाले सांसदहरूले हालेको उक्त संशोधन पास हुन दिन नहुने पनि बताएका छन्।
‘नेपाली काँग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ। साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न,’ उनले भनेका छन्, ‘कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ। कोही द्विविधामा नपरे हुन्छ।’
एमालेका तर्फबाट पाँच जना सांसदले कुलिङ पिरियड नै राख्न आवश्यक नरहेको तर्कसहित संशोधन प्रस्ताव राखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।