काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आदिवासी जनजाती देशकै मौलिकता र पहिचान भएको बताएका छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महसंघको स्थापना दिवसका अवसरमा शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले हिमाल, पहाड, तराई सवै ठाँउमा छरिएर रहेका आदिवासी जनजाती समूलाय देशको मौलिकता र पहिचान भएको बताएका हुन् ।
आदिवासी जनजाती समूदायका व्यक्तिहरुले देशको गौरव राख्ने काम गरेको उनले बताए । सभापति देउवाले नेपाललाई पहिचान सहितको राष्ट्र बनाउन सबैले आफ्नो कला संस्कृति र भेषभुषा जोगाउनुपर्नेमा जोड दिए । उनले देशभर रहेका आदिवासी जनजाती लगायत समूदायलाई कांग्रेसमा आबद्ध गराउन महासंघलाई आग्रह गरे ।
त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले अहिलेको संविधानमा भएको अधिकार कसैले दिएको नभएकाले कसैले खोसेर लैजान नसक्ने बताए । उनले पार्टीभित्र कार्यदल बनाएर संविधान संशोधनका लागि आवश्यक मत बनाउने उल्लेख गरे ।
पार्टीको मत निर्माण भएपछि एमालेसँग छलफल गर्ने र दुई दलबीच सहमति भएपछि अन्य दलसँग संविधान संशोधनका बारेमा सम्वाद गर्ने उनले बताए ।
उनले संघमा अहिले २५ वटा मन्त्रालय आवश्यक नरहेको भन्दै ८ मन्त्रालय भए पुग्ने बताए । थापाले प्रदेश सरकार पनि संघ अनुसार नै चलिरहेको भन्दै प्रदेश सञ्चालनको बिषयलाई पनि ध्यान दिने बेला आएको जिकिर गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।