काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिप्रति आपत्ति प्रकट गरेका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिको गरिमा छोडेर दलविशेषको कार्यकर्ता हुन आउनु गम्भीर रहेको तर्क गरेका छन् । साथै, ओलीले एमाले पार्टी र अध्यक्षसँग भण्डारीले परामर्श नगरेको पनि दाबी गरेका छन् ।
पत्रकार विजयकुमारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले परामर्शबिनै भण्डारीले सक्रिय राजनीतिमा आउने निर्णय लिएको बताएका हुन् । उनले अन्तर्वार्तामा भनेका छन्, 'पार्टीको अध्यक्ष म छु, एमाले पार्टी छ, त्यहाँ कुनै परामर्श भएको छैन, कहाँ–कहाँ परामर्श गर्नुभयो थाहा भएन । तर मसँग परामर्श भएको छैन ।'
आफूसँग छलफल नगरी सक्रिय राजनीतिमा फर्किने भण्डारीको निर्णयले अहिलेको प्रणालीमाथि नै गम्भीर प्रश्न उठाएको ओलीको भनाइ छ । ओलीले भनेका छन्, 'मलाई सक्रिय राजनीतिमा आउन मन छ, आउँ कि नआउँ ? देशलाई फाइदा हुन्छ कि हुँदैन ? अथवा प्रणालीगत हिसाबले के हुन्छ ? राष्ट्रपतिको गरिमा छोडेर दलविशेषको कार्यकर्ता हुन आउँदा के हुन्छ भनेर यी कुनै पनि विषयमा विचार विमर्श भएन ।'
ओलीले पूर्वराष्ट्रपति रामवरण यादवले भने थिति बसाउन प्रयास गरेको उल्लेख गरेका छन् । यादवले थिति बसाउन गरेको प्रयासलाई भण्डारीले उल्लंघन गरेको पनि उनको टिप्पणी छ । भण्डारीको सक्रिय राजनीतिमा फर्किने विषय राजनीतिक प्रणाली तथा गणतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको पनि ओलीले उल्लेख गरेका छन् ।
ओलीले भण्डारीलाई लक्षित गर्दै भनेका छन्, 'राष्ट्रपति भनेको सबै अंगको प्रमुख हो, देशप्रति र सविधानप्रति उत्तरदायी हुन्छ । विद्याजी राष्ट्रपति छँदासम्म निष्पक्ष ढंगले चल्नुभएको थियो । राष्ट्रपति सेनाको परमाधिपति हो ,देशको साझा र संरक्षक हो । त्यसैले राष्ट्रपति राजनीतिमा आउनु नैतिकताको प्रश्न हो । बसाउनुपर्ने थिति हो । रामवरण यादवले थिति बसाउन खोजेको देखिन्छ ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।