काठमाडौँ– नेकपा एमाले सांसद सुहाङ नेम्वाङले अहिलेको संसदीय अभ्यास नैराश्य र नकारात्मकमा सीमित हुन थालेको बताएका छन्।
बिहीवार सिंहदरबारमा नेपाल-बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले अहिले संसद्मा नैराश्य र नकारात्मक फैलाउने काम भइरहेको र यसले संसदीय मर्यादामाथि प्रश्न उठाउने जिकिर गरे। उनले संसद्बाट भइरहेका नकारात्मक र नैराश्य कुरा जनताले मूल्यांकन गरिरहेको पनि बताए।
कानूनलाई जीवन्त बनाउने काम सांसदहरूको भएको र सांसदहरूले कानूनलाई जीवन्त बनाउँदै जनतामा आशा जगाउनुपर्ने बताए। बेलायती संसद्का अभ्यास र अनुभव सिकिरहँदा नेपाली भूगोल र जनतासँग कतिपय कुरा मेल नखाने भएकाले आफ्नो भूगोल र जनताको अपेक्षानुसार काम गर्दै जानुपर्ने बताए।
उनले भने, ‘यत्तिकै त नैराश्य र नकारात्मकताका हाम्रो अहिले संसदीय अभ्यास भइरहेको छ। महत्त्वपूर्ण कुरा जनताले स्पष्ट सुन्न पाउँदा राम्रो हुन्छ। कानूनलाई जीवन्त बनाउने काम भनेको हामी सबैको हो। हुबहु लागू नहुन सक्छ तर उहाँहरूको ज्ञान र अनुभव लिइरहनुपर्छ।’
सांसद नेम्वाङले जनताको करबाट विदेश भ्रमण गर्ने र त्यसको उपलब्धि नहुने आरोप सांसदहरूमाथि लाग्ने गरेको भन्दै त्यसलाई चिर्न विदेशमा सिकेका कुरा स्वदेशमा लागू गर्न जरुरी रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।