काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका थिए।
बैठक सुरु भएपछि सभामुख घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिए। सांसद नेपालीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै नपुग्ने बताएका छन्। उनी मुछिएको घूस काण्डमा सत्य तथ्य छानबिन हुनुपर्ने सांसद नेपालीले बताए।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए ।
मन्त्री गुप्ताले राजीनामा दिएर नैतिकता देखाए पनि गृहमन्त्री रमेश लेखकले आफूमाथि प्रश्न उठ्दा पनि राजीनामा नदिएर पद लोलुपता देखाएको बताए। उनले गृहमन्त्री लेखकले कहिले राजीनामा दिन्छन् भनेर प्रश्न गरे।
दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।