काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्।
मंगलवार काठमाडौँमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने उनले बताए। लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने देउवाले बताए।
उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भएको पनि देउवाले उल्लेख गरे। यसका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु जरुरी रहेको उनले बताए। जलविद्युत आयोजनाहरूको आइपिओ निष्कासन रोक्नु गलत भएको भन्दै उनले धितोपत्र बोर्डले चाँडै शेयर निष्कासन गर्ने बताए। ऊर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पत्ति भएको पनि देउवाले बताए।
सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको बताए। यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाई थप प्रोत्साहित गर्नुपर्ने उनले बताए। निजी क्षेत्रबाट उत्पादन बढ्दै जानु खुसीको कुरा भएको उल्लेख गर्दै उनले देशभित्र लोडसेडिङ नरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।