काठमाडौँ – पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटको अभावबारे उठाएको प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ फर्काएका छन्।
सोमबार संसदमा विशेष सम्बोधन गर्नेक्रममा प्रचण्डले कीर्तिपुर मैदानको फ्लडलाइट र प्यारापिटबारे प्रश्न गरेका थिए ।
त्यसप्रति सोमबार नै फेसबुकमा प्रतिक्रिया दिँदै ओलीले निर्माणाधीन प्यारापिट र जडान हुँदै गरेका फ्लडलाइट पोल हेर्न जान सुझाव दिएका छन्।
ओलीले भनेका छन्, ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।’
ओलीले आफूले योजनाहरू टाइमलाइनसहित अघि सारेको र त्यसमा काम भइरहेको प्रष्ट पार्दै प्रचण्डमाथि व्यंग्य पनि गरे। ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि काममा टाइमलाइन तोकेर गर्छु भन्नु भएन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम’ ओलीले कटाक्ष गर्दै भने, ‘मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें, र काम पनि गरें।’
प्रधानमन्त्री ओलीले प्रचण्ड नेतृत्वको सरकारले छाडेर गएको अर्थतन्त्रको अवस्थाबारे पनि टिप्पणी गरे। ‘तपाईंले जर्जर बनाएको अर्थतन्त्र अहिले कहाँ पुगेको छ, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु’ उनले थपे।
यसअघि प्रचण्डले प्रतिनिधिसभामा सम्बोधनका क्रममा उनकै नेतृत्वको सरकारले कीर्तिपुर रंगशालामा फ्लडलाइट जडानका लागि ठेक्का सम्झौता गरिसकेको तर त्यसपछि सरकार परिवर्तन भएर ओली सरकारले ३०० दिनभित्र रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गरेको एक वर्ष बितिसक्दा पनि काम सम्पन्न नभएको भन्दै सरकारमाथि प्रश्न उठाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।