काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको नेतृत्वमा रहेको सुशासन आयोगको खोजि गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले सरकारका मन्त्रीहरु एकपछि अर्को लेनदेन काण्डमा मुछिएको तथ्य सार्वजनिक भइरहेको अवस्थामा प्रधानमन्त्रीको नेतृत्वमा रहेको सुशासन आयोग कहाँ छ भन्दै प्रश्न गरेका हुन्।
नैतिकता र सुशासनप्रति अलिकति मात्रै प्रतिबद्धता छ भने मन्त्रीहरुको राजीनामा माग्ने वा बर्खास्त गर्नुपर्ने उनले बताए। उनले चिल आयो भन्ने अनि तल चल्ला टिप्ने र जनताको ध्यान एकातिर लगेर मन्त्रिपरिषद्मा बसेर ठूला पार्टी मिलेर देश लुट्ने काम कदापी स्वीकार्य नहुने धारणा राखेका छन्।
त्यस्तै अध्यक्ष लिङदेनले संसदमा दुई पार्टीले डेढ महिनादेखि विरोध जनाइराख्दा जबरजस्ती संसद् चलाउने प्रयास संसदीय इतिहासमा कालो समय भएको जिकिर गरे। विरोधकाबीच सदन चलाउने प्रयास केवल सरकारको अकर्मण्यता र उदासीनता मात्र नभइ सभामुखको कार्यकालको सबैभन्दा कालो समयको रुपमा उल्लेख रहने उनले बताएका छन्।
उनले प्रतिपक्षी दलहरूले उठाएको आवाजलाई सम्बोधन गराउने प्रयास सभामुखले गर्नुपर्नेमा जोड दिए। अध्यक्ष लिङ्देनले धारणा राखेपछि राप्रपाका सांसदहरुले पनि सदन बहिष्कार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।