काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पाको नहुने बताएका छन्। उनले एमाले अहिले पनि नौजवान पार्टी भएको दावी गरेका छन्।
शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन्।
उनले अहिले पुराना राजनीतिक दलहरू सकिए र पुराना दलहरूको स्थान नयाँले लिन्छन् भन्ने भाष्य सिर्जना गरिएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ राजनीतिक दलहरू त्यसमा आश गरेर बसिरहेको बताए।
उनले रास्वपा कहिले पुराना दलहरू सकिन्छन् र त्यो ठाउँमा बसौँला भन्ने आशमा रहेको आरोप लगाए। राजनीतिक दल कहिले पनि पाको नहुने र कहिल्यै नमर्ने भन्दै एमालेले हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रूपान्तरण गर्दै आएको बताए।
सचिव भट्टराईले भने, ‘पुराना दलहरू अब सिद्धिँदै छन्। पुराना दलहरूको स्थान नयाँ दलले लिँदै छन् भन्ने कतिपयका भाष्य छन्। मान्छे पाको हुन्छ, मृत्यु पनि हुन्छ। राजनीतिक दल कहिले पनि पाको हुँदैन। एमाले आज पनि नौजवान पार्टी हो। काँग्रेस आज पनि नौजवान पार्टी हो।’
सचिव भट्टराईले राजनीतिक दलको कहिले पनि मृत्यु नहुने बताए। राजनीतिक दल जहिले पनि पुनर्गठित हुँदै जाने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।