काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समानतामा आधारित प्रणाली नभएसम्म लोकतान्त्रिक गणतन्त्रको अर्थ नरहेको बताएका छन्।
दलित, पिछडावर्ग, थारु, मुश्लिम, आदिवासी र अल्पसंख्यक समुदायको केन्द्रीय परिसंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा यादवले यस्तो बताएका हुन्।
फुटाउने र राज्य गर्ने नीति चलिरहने र आफुहरु एकआपसमा लडिरहने प्रवृतिले प्राप्त भएका उपलव्धी समेत टिकाउन नसकिने उनले बताए। अध्यक्ष यादवले पहिचानको मान्य सवै समूदायले पाउनुपर्ने धारणा राखे। प्रदेशको संरचना पहिचानका आधार नभएकाले अहिले निर्माण गरेको सात वटा प्रदेश काम नलाग्ने उनले बताए।
‘जबसम्म हुँदा खाने र हुने खानेबीचको विभदेका अन्त्य हुँदैन तबसम्म एउटा जाति, एउटा समुदाय र एउटा शासकलाई विशेष अवसर पाप्त हुन्छ, बाँकी वञ्चितिकरणमा परिरहन्छ। तबसम्म यो मुलुकमा न शान्ति, न स्थिरता, न विकास र न समृद्धि प्राप्त गर्न सकिन्छ,’ यादवले भनेका छन्, ‘त्यसकारण यो संरचना अब भत्काउनुपर्छ, अन्त्य गर्नुपर्छ। राजनीतिक लोकतन्त्रलाई सामाजिक लोकतन्त्र र समावेशी लोकतन्त्रको रुमपा रुपान्तरण गर्नुपर्छ।’
उनले ८ वटा जिल्ला मात्रै मधेश नभएको बताउँदै बाँकी ६ वटा प्रदेशमा कम संख्या भएको समुदायको हाली मुहाली हुने गरी बनाइएको बताए।
‘प्रदेशहरुको संरचना, यसरी घुमाइ घुमाइ बनाइएको छ, ७ वटा प्रदेश। एउटा प्रदेश मधेस प्रदेशमा त्यहाँका समुदायको प्रतिनिधित्व छ यद्यपि ८ वटा जिल्ला मात्रै मधेस होइन। बाँकी सबै ६ प्रदेशमा कम संख्या भएको समुदायको हाली मुहाली हुनेगरी बनाइएको छ। यो के हो त भन्दा संरचनागत विभेद हो। स्ट्रक्चरल डेस्क्रिम्नेशन हो,’ यादवले भने।
अध्यक्ष यादवले सवैभन्दा पछि परेकाहरुको छुट्टै निर्वाचन क्षेत्र बनाउनुपर्ने र सेवाको अवसर तथा बिकासका लगानीमा सवैभन्दा पछि परेका समूदायबाट सुरु गर्नुपर्नेमा जोड दिए।
उनले अहिलेको निर्वाचन प्रणालीले सवैको प्रतिनिधित्व हुन नसक्ने भएकाले त्यसका लागि पूर्ण समानुपातीक निर्वाचन प्रणालीको व्यवस्था हुनुपर्ने धारणा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।