काठमाडौं– गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन भन्ने विषय प्रष्ट पार्न सो पार्टीलाई आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो जिज्ञासा राखेका हुन्।
‘माननीय रवि लामिछाने जी जो सम्मानित सदनको सदस्य पनि हुनुहुन्थयो। उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रुपमा जानुभएको थियो अरे, भन्ने सुनेको थिएँ। उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो कि होइन ?,’ गृहमन्त्री लेखकले भनेका छन्, ‘भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा जानुभएको। होइन भने के भिसामा जानुभएको हो त्यो जानकारी गराउनुहुन आग्रह गर्दछु।’
गृहमन्त्री लेखकले प्रधानमन्त्रीसँग जाने मानिसहरू मन्त्रिपरिषद् बैठकले निर्णय गरेर मात्रै जाने र उनीहरूको भ्रमण सूची पहिला नै मन्त्रिपरिषद् निर्णय अनुसार जानकारी गराइसकिएको बताए।
उनले प्रधानमन्त्रीको भ्रमण दलमा गएका को–को फर्किएनन् सूची दिन आग्रह गरे सूची दिन नसक्ने भए कल्पनामा अनुमानमा असत्यका पुलिन्दा नबाँध्न आग्रह गरे। ‘साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने को को मान्छे जानु भएको थियो, त्यसमध्ये को फर्किएर आएन भन्दिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो भन्ने मेरो आग्रह छ,’ गृहमन्त्री लेखकले भने, ‘होइन भने यस्ता कल्पनामा अनुमानमा असत्यका पुलिन्दा बाँधेर कहीँ पुगिँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।