काठमाडौं– संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही क्षेत्र न.३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले रुपन्देही क्षेत्र न.३ को उपनिर्वाचनमा मोर्चाको संयुक्त उम्मेदवारको रुपमा नाउपा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।
बैठकले संविधान संशोधनका लागि मोर्चाले आफ्नो राय एकमत बनाउने र आवश्यक कुराहरु संविधान संशोधनका लागि क्रमशः उठाउँदै जाने निर्णय गरेको तराई–मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता डा बिजय कुमार सिंहले जानकारी दिए ।
त्यस्तै राज्य व्यवस्था समितिबाट पारित भएको निजामति विधेयकमाथिको चलखेल लोकतान्त्रिक र संसदीय अभ्यासप्रति गम्भीर अपराध भएको मोर्चाको ठहर रहेकाले त्यस्ता काममा संलग्नलाई संसदीय समितिले छानबिन गरी कारबाही गर्नुपर्ने र संसदको मर्यादा कायम राख्नुपर्नेमा जोड दिइएको सिंहले बताए ।
त्यस्तै बैठकले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको संवैधानिक पदाधिकारीहरुको नियुक्ति सम्बन्धी निर्णयप्रति गम्भीर निराशा व्यक्त गरेको छ । त्यस्तै किसानहरुलाई मलखादको अभाव भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको सिंहले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।