दार्जिलिङ- केही दिनयता शान्त बन्दै गएको दार्जिलिङ पहाडमा हिंसा भड्किएको छ। १०५ दिनको बन्द खुलेको १६औं दिनमा सुरक्षाकर्मी र मोर्चाका कार्यकर्ताबीच भएको झडपले उग्र रुप लिएको हो। सो क्रममा शुक्रबार प्रहरी अधिकारी अमिताभ मल्लिकको मृत्यु भएको थियो।
भूमिगत रहेका गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङलाई पक्राउ गर्ने उद्देश्यले शुक्रबार बिहानैदेखि बर्नसबेग चियाबगानको फेदी र छेउछाउका इलाकामा प्रहरीले छापा मारेको थियो। सो क्रममा चियाबगान फेदीमा अवस्थित छोटा रङ्गीत खोला नजिक एउटा शिविर फेला पारेको प्रहरीले बताएको छ। सोही शिविरबाट ६ वटा एके ४७, एउटा रिभल्वर, ५ राउन्ड बुलेट र बम बनाउने सामग्रीहरु फेला पारेको एडिजी ल एन्ड अर्डर अनुज शर्माले कलकत्तामा पत्रकार सम्मेलन गरी बताए।
दार्जिलिङ जिल्ला पुलिस अधिक्षक अखिलेश चक्रवर्तीले जिएलपी जवानहरूले प्रयोग गर्ने भारी मात्रामा हतियार भेटेको दाबी गरेका छन्।
‘उनीहरू भागे पनि एक जना पक्राउ परेका छन्। उनले आफू त्यहाँ दुई महिनादेखि विमल गुरूङले क्याम्पमा रहेको हामीलाई बताएका छन्,’ उनले भने, ‘गोलीबारीमा उनीहरू पनि घाइते भएका हुन सक्छन्।’ गोजमुमो समर्थकहरुले चलाएको गोली लागेर मल्लिकको मृत्यु भएको उनको भनाइ छ।
प्रहरीको भ्यान लिएर गएका चालक कुमार तामाङमाथि पनि पनि आक्रमण गरिएको प्रहरीले जनाएको छ। उनको दार्जिलिङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि दार्जिलिङ पहाड बन्द हुने भनिए पनि बजार, यातायात सेवा सञ्चालनमा आएका थिए।
गुरुङ आउने भएपछि छापा
दुई दिनअघि मात्रै केन्द्र सरकारले समस्याको स्थायी समाधानका लागि एक नेगोसियसन कमिटी गठन गर्ने बताएको थियो। त्यसलगत्तै गोजमुमो अध्यक्ष गुरूङले लाखौंको संख्यामा जनतालाई सड़कमा ओराल्ने भन्दै आगामी ३० अक्टोबरका दिन दार्जिलिङमा आउने घोषणा गरेका थिए। उनी आउने सूचनाका आधारमा प्रहरीले बर्नसबेग चियाबगान इलाकामा छापा मारेको हो। तर सो क्रममा गुरूङ पक्राउ पर्न सकेनन्।
यता पेदोङको मूल साक्योङबाट पनि कालेबुङ प्रहरीले हतियार र विस्फोटक पदार्थ भेटेको दाबी गरेको छ। जिल्ला प्रहरी अधिक्षक अजितसिंह यादवका अनुसार उनीहरूले बुद्ध राई र सुमन छेत्रीको घरमा छापा मारिएको थियो। सो क्रममा विवेक राई र राखी छेत्री पक्राउ परेका छन्।
यही विषयलाई लिएर पेदोङका पूर्व सभासद् दावा लेप्चा र फुब नाम्गेललाई युएपिए अन्तर्गत मुद्दा चलाइएको छ।
दार्जिलिङमा गोलीबारी चलेको खबर फैलिनेबित्तिकै पेदोङ अचानक बन्द भएको थियो। दावा लेप्चाको विमल गुरूङसित पारिवारिक सम्बन्ध रहेको बताइन्छ भने पेदोङका मोर्चा समर्थकहरू अझसम्म पनि विमल गुरूङकै पक्षमा छन्।
बन्द भएको खबर आएपछि पेदोङ पुगेको प्रहरीले त्यहाँबाट हतियार बरामद गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।