काठमाडौँ– सांसदहरुले देशभर लगातार वर्षा हुन थालेपछि बाढीपहिरो र डुबानबाट सम्भावित क्षति न्यूनीकरणका लागि सचेत गराउँदै उद्धार र राहतको तयारीबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षायाममा सतर्कता अपनाउन सुझाव दिँदै किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउनसमेत सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए।
सांसद उदयबहादुर बोहराले देशभर किसानलाई आवश्यक मल उपलब्ध नभएकोतर्फ सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए।
सांसद नरबहादुर विष्टले निरन्तर वर्षाका कारण सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका किसान मर्कामा परेको बताए। यी प्रदेशका विभिन्न जिल्लाका बजार समेत अस्तव्यवस्त भएकोतर्फ ध्यानार्कषण गराउँदै क्षति न्यूनीकरण र उद्धारका लागि सरकारको योजनाबारे गृह मन्त्रालयले सदनलाई जानकारी दिन सभाअध्यक्षमार्फत माग गरे।
सांसद नारायणदत्त मिश्रले सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका अतिवृष्टिले प्रभावित भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए।
यस्तै, सांसद मदनकुमारी साह गरिमाले सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने हुलाकी सडकअन्तर्गत कर्णाली नदीको पुलको बर्दियातर्फको भाग क्षतिग्रस्त भएकाले तत्काल मर्मत गर्न ध्यानाकर्षण गराइन्।
सांसद मोहम्मद खालिदले चामलमा आत्मनिर्भर हुने सरकारले लिएको लक्ष्यबारे सचेत गराए।
सांसद राजेन्द्र लक्ष्मी गैरेले वर्षाका कारणले सडक क्षतिग्रस्त हुँदा आवतजावतमा समस्या भएको भन्दै जोखिमपूर्ण यात्राबारे सचेत गराइन्।
सांसद भुवनबहादुर सुनारले सुनचाँदी व्यवसायीको कर खारेज गर्ने मागप्रति सरकारको ध्यानाकर्षण गराए।
सांसद दुर्गाकुमारी गुरुङले कर्णाली प्रदेशका जनता रोजगारीका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य गर्न स्वदेशमा उद्योग सञ्चालन र सीपमूलक तालिम उपलब्ध गराउन तीनै तहका सरकारसँग माग गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।