काठमाडौँ– उपसभामुख इन्दिरा रानाले संसद् बलियो हुँदा लोकतन्त्र बलियो हुने बताएकी छन्।
संसद् दिवसको अवसरमा पूर्व सांसद मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले प्रजातान्त्रिक व्यवस्थाको मूल आधारको रूपमा रहेको विधायिका बलियो हुँदा नै लोकतन्त्र बलियो हुने बताएकी हुन्।
उपसभामुख रानाले जनताबिच संसद्प्रति विश्वास बढाउने काम स्वयं सांसदबाटै सुरु गर्न आग्रह पनि गरिन्। ‘संसद् नागरिकको आवाज, आकाङ्क्षा, विचार र आवश्यकता बोकेको संस्था हो, जसले नीति, कानुन, योजना र अनुगमनमार्फत शासन व्यवस्था सुचारु राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ’ रानाले भनिन्– ‘लोकतन्त्र बलियो बन्नका लागि संसद्लाई बलियो र प्रभावकारी बनाउनुपर्छ।’
संसद्को प्रभावकारिता, पारदर्शिता, जबाफदेहिता र जनउत्तरदायीपनलाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता रहेको चर्चा गर्दै उपसभामुख रानाले संसद् प्रभावकारी र जनउत्तरदायी भयो कि भएन भन्ने विषय बहसमा रहेको हुँदा संसद्लाई कसरी जनउत्तरदायी बनाउँदै लैजाने भन्ने चिन्तन गर्न आग्रह गरिन्। संसद् कमजोर हुँदा जनताका आवाजहरू दबाइने भएकाले संसदीय सर्वोच्चताको पक्षमा उनको जोड थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।