काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असार १३ गते सचिवालय बैठक आह्वान गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताएका हुन्।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनलगायतको विषयमा छलफल हुने उनले बताए।
बैठकमा केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वनका विषयमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार विभागलाई पूर्णता तथा नेताहरूको जिम्मेवारी हेरफेर, आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल गरिने छ।
यस्तै बैठकमा पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दाबारे पनि छलफल हुनेछ। अध्यक्ष नेपाल आज विशेष अदालतमा बयान दिन पुगेका छन्।
भ्रष्टाचारको मुद्दा दर्ता भएपछि उनीमाथि पार्टीको कार्यवाहक सभापति र संसदीय दलको नेता तोक्न दबाब छ, तर मुद्दा दर्ता भएपछि पहिलो पटक बैठक बस्न लागेकाले त्यसबारे पनि छलफल हुने जनाइएको छ।
नेपाल प्रधानमन्त्री हुँदा पतञ्जलिलाई अवैध तरिकाले जग्गा बिक्रीको अनुमति दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो। गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपालका हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।