काठमाडौँ– खानेपानीमन्त्री प्रदीप यादवले आगामी चार वर्षभित्र काठमाडौं उपत्यकामा २४ सै घण्टा र बाह्रै महिना खानेपानी आउने दाबी गरेका छन्।
काठमाडौंमा खानेपानीको व्यवस्था गर्नका लागि टेन्डर आह्वान र आर्थिको स्रोतको व्यवस्थापन भइसकेको पनि मन्त्री यादवले जानकारी दिएका हुन्।
उनले खानेपानी मन्त्रालयको बजेट पहुँचका आधारमा नभई आवश्यकताका आधारमा गरिएको पनि स्पष्ट पारेका छन्।
मन्त्रालयको विनियोजनमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको सोमबार जवाफ दिने क्रममा मन्त्री यादवले काठमाडौंको खानेपानी समस्याको दीर्घकालीन समाधान खोजिएको बताएका हुन्। 'मेलम्चीमा दीर्घकालीन रूपमा काम गरिरहेका छौं। काठमाडौंमा ४ वर्षभित्र २४सैं घण्टा १२ महिना पानी आउँछ। त्यसका लागि खानेपानी मन्त्रालयले काम गरिरहेको छ। यो कागजमा मात्रै होइन टेन्डर आह्वान भइसकेको छ, त्यसको लागि पैसाको व्यवस्था भइसकेको छ,' मन्त्री यादवले भने।
त्यस्तै, खानेपानी मन्त्रालयको विनियोजन पहुँचका आधारमा नभई आवश्यकताका आधारमा गरिएको पनि मन्त्री यादवले स्पष्ट पारे। प्रतिनिधिसभामा मन्त्रीहरूले पहुँचका आधारमा आफ्नो निर्वाचन क्षेत्र र ठूला नेताकोमा बजेट पारेको भन्दै सांसदहरूले आलोचना गरेको अवस्थामा मन्त्री यादवले भने त्यस्तो नगरिएको बताए। 'एउटा कुरा स्पष्ट गर्न चाहन्छु न प्रधानमन्त्रीको क्षेत्रमा बजेट हालेका छौं, न पूर्वप्रधानमन्त्रीको क्षेत्रमा बढी बजेट हालेका छौं। न ठूला नेताको क्षेत्रमा बढी बजेट हालेका छौं। हामीले सन्तुलित बजेट हालेका छौं। हातहातमा पुस्तक छ। सन्तुलिसत बजेट हालेको हुनाले सांसदहरूले यसमा रिसाएर होइन, मायाप्रेमले विनियोजन पास गरिदिन अनुरोध गर्छु,' उनले भने, 'कुन मन्त्रालयको बजेट अर्थमन्त्रीकोमा धेरै गएको छ वा कुन मन्त्रालयको के गएको छ तर मेरो विनियोजन त्यस्तो छैन। जसको क्षेत्रमा बढी बजेट गएको छ, त्यसैले गाली गरिरहेको छ। हामीले पहुँचको आधारमा बजेट हालेका छैनौं, एकदम सन्तुलित हिसाबले बजेट बनाएका छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।