काठमाडौँ –भारतले इरानमा अलपत्र रहेका नेपाली नागरिकलाई स्वेदश फर्काउने भएको छ । भारतीय अधिकारीहरूलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले ‘छिमेकी प्रथम नीति’का आधारमा नेपाली सहित श्रीलंकाली नागरिकलाई स्वदेश फर्काउन लागिएको उसले जनाएको छ ।
छिमेकीहरूसँगको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित भारतले शनिबार इरानमा अलपत्र परेका र फर्कन चाहने नेपाली तथा श्रीलंकाली नागरिकहरूलाई पनि उद्धार गरी स्वदेश पठाइउने जनाइएको छ ।
दिल्लीस्थित अधिकारीहरूले द्वन्द्व, प्राकृतिक प्रकोप वा महामारीजस्ता संकटको बेला भारतले सधैं आफ्ना छिमेकीहरूलाई प्राथमिकताका साथ सहयोग गरेको स्मरण गर्दै यो पटक पनि सोही गर्न लागेको जनाएको छ ।
भारतले इरानी विमान सेवाबाट आफ्ना नागरिक दिल्लीमा ल्याइरहेको छ । शनिबार २ वटा विमान मार्फत नागरिकहरुलाई स्वदेश फर्काएको थियो । तेहरानस्थित भारतीय दूतावासले एक्समा एक पोस्ट गर्दै नेपाल र श्रीलंकाको सरकारको अनुरोधमा, इरानमा भारतीय दूतावासद्वारा सञ्चालन गरिने उद्धार अभियानमा ती दुई देशका नागरिकहरू पनि समेटिने उल्लेख गरेको छ ।
दूतावासले थप जानकारी दिँदै नेपाल र श्रीलंकाका नागरिकहरूले तुरुन्तै दूतावाससँग टेलिग्राम च्यानल वा निम्न आपतकालीन नम्बरहरूमा सम्पर्क गर्न भनेको छ ।
+98 9010144557, +98 9128109115, +98 9128109109 भारतको सहायता प्रति परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतले इरानमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न गरेको सहयोगप्रति आभार व्यक्त गरेकी छन् । इन्डियन एक्सप्रेसले झण्डै १६ जना नेपाली नागरिक सम्पर्कमा रहेको जनाएको छ । भारतले हालसम्म इरानबाट ८२७ जना भारतीय नागरिकको उद्धार गरिसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।