काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले जथाभावी ड्रेस लगाएर संसद् भवन प्रवेश गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसले कारबाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा निलो रिबन लगाएर प्रवेश गरेका रास्वपा सांसदहरूलाई चेतावनी र संसद्ंबाट निष्कासन समेत हुनसक्ने नियमावली सम्झाउँदै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले ध्यानाकर्षण गराएका हुन्।
‘यो संसद्मा मर्यादित पोशाकमा आउनुपर्छ भनिएको छ। यो नियमावलीमा गरिएको व्यवस्था हो। यो संसद्मा केही माननीय सदस्यले जुन स्कार्फ लगाउँदै आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ?,’ घिमिरेले भनेका छन्।
उनले यस्ता ड्रेसलाई संसद्को मर्यादाभित्र पर्ने वा नपर्ने भन्दै सभामुख घिमिरेलाई प्रश्न गरे।
मर्यादित पोसाकमा नआई केही सांसद स्कार्फ लगाएर आएको भन्दै घिमिरेले भने, ‘कोही हाफ पाइन्ट लगाएर आउने, भोलि आफूखुसी कपडा लगाएर आए संसदीय मर्यादाभित्र राख्ने कि नराख्ने ?’
‘नियमावली ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्नेछन्। र, चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ भनिएको छ। साथै बैठक कक्षबाट निष्कासन गर्न सक्नेसमेत व्यवस्था नियमको ३१ मा गरिएको छ। सभामुख महोदय ! यस्तो किसिमको व्यवहार गर्नेलाई चेतावनी दिने र संसदबाट निष्कासित गर्ने कारबाही गर्ने आवश्यक छ।’
रास्वपाका सांसदहरू मानव तस्करीविरुद्धको अभियानको विश्वव्यापी प्रतीक भन्दै ‘नीलो रिबन’ लगाएर संसद छिरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।