काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीप्रति आकर्षण बढेको देखेपछि घेराबन्दी र बदनाम गर्ने उद्देश्यले पार्टीभित्र र बाहिरबाट निरन्तर षड्यन्त्र भइरहेको बताएका छन् ।
मोरङको उर्लाबारीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादी शक्तिहरू माओवादीको बढ्दो जनाधार देखेर आत्तिएको कारण षड्यन्त्रहरू गरिरहेको बताए ।
प्रचण्डले भने, ‘हाम्रो पार्टीप्रति आकर्षण बढेपछि यथास्थितिवादी कांग्रेस र एमाले जस्ता पार्टीहरू माओवादीलाई बदनाम गराउने र घेराबन्दी गर्न लागिरहेका छन् । माओवादीभित्रै कसरी अन्तर्विरोध बढाउने भन्ने षड्यन्त्रमा लागिरहेका छन् ।’
उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा महत्त्वपूर्ण काम गरेको स्मरण गरे । प्रचण्डले थपे, ‘राम्रो काम गर्दागर्दै षड्यन्त्रपूर्वक सरकारबाट बाहिरिनुपरे पनि हामी हाम्रो अभियान लिएर जनताको घरघरमा पुग्यौँ, उनीहरूसँग बसेर दुःखसुख बाँड्यौँ। यही कारणले माओवादी केन्द्रप्रति जनताको विश्वास झनै बलियो बन्दै गएको छ ।’
पूर्वी नेपालका झापा र मोरङ जिल्लामा माओवादी केन्द्रले अघिल्लो स्थानीय चुनावमा उल्लेखनीय सफलता हासिल गरेको उनले बताए । उनले आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा नयाँ रेकर्ड बन्ने गरी जाने दाबी गरे । कार्यक्रममा विभिन्न राजनीतिक दलहरू परित्याग गरी ३७० जना नेता तथा कार्यकर्ता नेकपा पार्टीमा प्रवेश गरेको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।