काठमाडौं– भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछि नहटेसँगै आजको संसद् बैठक पनि अनिश्चित बनेको छ।
संसद् भवन नयाँ बानेश्वरमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठक विना निष्कर्ष सकिएको हो।
प्रतिनिधिसभा बैठकमा जेठ १३ गतेदेखि जारी गतिरोध अन्त्यका लागि कांग्रेससँग रास्वपाले कम्तीमा पनि भिजिट भिसा सेटिङको छानबिन गर्न संसदीय समिति बनाउन पर्ने माग राखेको थियो । त्यो माग कांग्रेसले अस्वीकार गरेपछि बैठक निष्कर्षविहीन भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
तर, कांग्रेसले अख्तियारमा छानबिन भइरहेको विषयमा संसदीय समिति वा अर्को छानबिन समिति नबनाउने भनेपछि रास्वपा संसद्को अवरोध खुलाउन तयार नभएको हो।
संसद्को गतिरोध अन्त्य गर्नेगरी सत्ता र प्रतिपक्ष दलहरूबीच निरन्तर छलफल जारी छ।
स्रोतका अनुसार, कांग्रेसले अघि सारेको मध्यमार्गी प्रस्तावमा नेकपा माओवादी केन्द्रले सहमति जनाइसकेको छ। यद्यपि रास्वपा त्यसमा तयार नदेखिएको हो।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार, छानबिन समिति वा संयन्त्र के बनाउने भन्ने विषयमा छलफल भइरहेको छ।
‘छानबिन समिति वा संयन्त्र भन्ने छलफल चलिराखेको छ,’ उनले भने, ‘सत्तापक्ष नै छानबिन समिति भन्नेमा तयार नहुँदा आजको संसद् चल्ने वा नचल्ने अनिश्चित भएको छ।’
प्रतिनिधिसभा बैठक दिउँसो दुई बजेका लागि बोलाइए पनि दलहरूबिच सहमति हुन नसक्दा अहिलेसम्म सुरु हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।