काठमाडौं– नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आवद्ध युवाहरुले मोटरसाइकल र्याली सहित काठमाडौंमा प्रदर्शन गरेका छन्।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर असन्तुष्ट नेताहरूले पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनको लागि सडकमा उत्रिएका हुन्।
तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न नेतृत्वलाई ध्यानाकर्षण गराउने उदेश्यका साथ उनीहरुले बिभिन्न स्थान हुदै कांग्रेस पार्टी कार्यालयसम्म मोटरसाइकल र्याली निकालेका हुन्।
२०७३ सालमा पोखरामा भएको महाधिवेशनबाट अहिलेसम्म आउँदा नौ वर्ष बितिसकेको भन्दै कुनै दल वा भ्रातृ संगठन तदर्थवादको नाममा यति लामो समयसम्म रहनुले सिंङ्गो संगठन कमजोर बनिरहेको तरुण दलका केन्द्रीय सदस्य रोजन राइले बताए।
उनले पछिल्लो तदर्थ समिति गठन भएको पनि ३ बर्ष हुँदा पनि महाधिवेशन गर्नेतर्फ उन्मुख नभएकाले अव म्याद थप गर्न नहुने धारणा राखे।
उनीहरुले कांग्रेसले अन्तिम पटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वतः विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात् गर्दै नयाँ तदर्थ समितको माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘तदर्थ समितिको मूल उद्देश्य र पार्टीले दिएको मूल जिम्मेवारी नै तरुण दलको महाधिवेशन हो भनेर हामी केन्द्रीय सदस्यहरूले भनिरहँदा उहाँ भने काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर लागिरहनुभयो। कहिले भइरहेको तरुण दलको घर भत्काएर नयाँ घर बनाउने भन्दै लाग्नु भयो।’
उनले अधिवेशनको नाममा केन्द्रीय समितिलाई थाहै नदिई आफ्नै साथीहरू माझ हानाहान र काटमारको अवस्था सिर्जना गराएको आरोप लगाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘तरुण दलको सार्वजनिक सम्पत्ति घर बनाउँदा होस वा भत्काउँदा केन्द्रीय समितिलाई जानकारी हुन पर्दैन र ? तरुण दलको अधिवेशन कुन कुन जिल्लामा हुदैछ, को को केन्द्रीय प्रतिनिधि तोकिँदै छ केन्द्रीय समितिले थाहा पाउनु जरुरी छैन र ? यसैको परिणाम आज तीन वर्ष सम्म पनि महाधिवेशनमार्फत तरुण दललाई नयाँ नेतृत्व हस्तान्तरण गर्न नसक्ने असक्षम नेतृत्वको साक्षी वस्त्र परिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।