काठमाडौं– गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र कायम भएपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ।
संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठकमा सभामुख घिमिरेले संसद बैठक सहज रुपमा सञ्चालनको वातावरण बनाउने प्रयासमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख/मुख्य सचेतकहरुसँग छलफल गरेका थिए।
सो छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरण सुशासनसँग जोडिएकाले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने आफूहरुको अडान कायमै रहेको बताए।
बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले सदन सञ्चालनको वातावरण बनाउन गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका हुन्।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरू र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया सहभागी थिए।
प्रतिनिधि सभा बैठक अघि सभामुखले दलका सचेतकहरूसँग बैठक सञ्चालनको विषयमा छलफल गरिरहेका हुन्। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन्। सत्ता पक्ष समिति गठनको लागि तयार नभएकोले संसद् बैठक अवरोध गर्ने रणनीतिमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू रहेका छन्।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति बनाउनु पर्ने विपक्षी दलहरूको माग सम्बोधन गर्न सत्ता पक्ष तयार नभएकाले अहिलेसम्म प्रतिनिधिसभामा रहेको अवरोध खुल्ने संकेत देखिएको छैन। मंगलबार दुई पटक सूचना टाँसेर बस्दै नबसी स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।