एजेन्सी– रुस–युक्रेन शान्ति वार्ताको पछिल्लो चरणको एक दिनपछि रक्षा र आर्थिक मामिलामा अमेरिकी अधिकारीहरूसँग वार्ताका लागि युक्रेनी शीर्ष अधिकारीहरूको प्रतिनिधिमण्डल मङ्गलबार वासिङ्टन आइपुगेको छ।
इस्तानबुलमा सोमबार रुससँग भएको प्रत्यक्ष वार्ताको दोस्रो चरण कुनै सफलता बिना समाप्त भएपछि किएभको प्रतिनिधिमण्डलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीसँग भेट गर्नेछ।
संयुक्त राज्य अमेरिकाले छिमेकी देशबीच तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्ने प्रयासमा निकै कम प्रगति भएकाले ट्रम्प किएभ र मस्कोसँग निराश भएका छन्।
“हामी रक्षा सहयोग र युद्धको स्थिति, रुस विरुद्धको प्रतिबन्धलाई बलियो बनाउने बारेमा कुरा गर्ने योजना बनाउँछौँ”, राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका शीर्ष सहयोगी एन्ड्री यर्माकले सामाजिक सञ्जालमा भने।
प्रतिनिधिमण्डलको नेतृत्व युक्रेनकी अर्थमन्त्री युलिया स्विरिडेन्कोले गर्ने र यसमा रक्षा अधिकारीहरू पनि समावेश रहेको यर्माकले जानकारी दिए।
उनले युक्रेनीहरूले रिपब्लिकन र डेमोक्रेट अधिकारीहरूका साथै ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोली’ सँग भेट गर्ने बताए।
प्रतिनिधिमण्डलले ‘रुसद्वारा निर्वासित युक्रेनी बालबालिकाहरूको फिर्ती’ को विषयमा पनि छलफल गर्ने यर्माकले बताए।
सोमबारको वार्ताका क्रममा किएभले रुसलाई सयौँ युक्रेनी बालबालिकाको सूची दिएको बताएको छ। युक्रेनले ती बालबालिकालाई रुसले आफ्नो आक्रमणका क्रममा जबरजस्ती लगेको बताएको छ।
जनवरीमा ह्वाइट हाउस फर्केपछि युक्रेनमा युद्ध द्रुत रूपमा अन्त्य गर्ने वाचा गर्नुभएका ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्की दुवैमाथि बारम्बार आक्रोश व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।