एजेन्सी – युक्रेनले रुसविरुद्धको लडाइँमा अहिलेसम्मकै सबै भन्दा लामो दुरीको हमला गरेको छ । युक्रेनले चार सैन्य आधारमा रहेका ४० रुसी युद्ध विमान माथि लक्षित गर्दै लगातार ड्रोन आक्रमण गरेको हो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए अनुसार ३४ प्रतिशत रुसी रणनीतिक मिसाइल बोक्ने स्थानमा स्पाइडर वेब भनिने सुरक्षा संयन्त्रको प्रयोग गर्दै ११७ वटा ड्रोन प्रहार भएको बताए । युक्रेनले आइतबार प्रहार गरेको यो प्रविधि निर्माण गर्न १८ महिना लागेको बताइएको छ ।
रुसले ५ क्षेत्रमा युक्रेनले आक्रमण गरेको बताउँदै यसलाई आतङ्ककारी गतिविधि भनेको छ । युक्रेनका अधिकारीले आफ्नो भूमिमा पनि लगातार आक्रमण भइरहेको जनाएको छ ।
युक्रेन र रुसका बीचमा शान्ति वार्ताको तयारी भइरहेको समयमा यो आक्रमण भएको हो । टर्कीको इस्तानबुलमा सोमबार रुस र युक्रेनका बीचमा दोस्रो चरणको वार्ता हुने जनाइएको छ । सन् २०१४ मा नै लिएको क्रिमियासहित रुसले युक्रेनको २० प्रतिशत भू–भागमा कब्जा जमाएको छ ।
राष्ट्रपति जेलेन्सकीले आइतबारको आक्रमण पछि आफ्नो सुरक्षा संयन्त्रलाई बधाई दिँदै आफ्नो क्षमता प्रदर्शन गरेको उल्लेख गरेका छन् । यस अपरेसनमा सरिक सबै जना रुसबाट फर्किएको पनि जेलेन्स्कीले बताएका छन् । युक्रेनले प्रयोग गरेको सबै ड्रोनमा फरक पाइलट थिए । युक्रेनले रुसको सात अर्ब अमेरिकी डलर बराबरको रक्षा उपकरण नास गरेको दाबी गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।