काठमाडौं–प्रधानमन्त्री केपी ओलीले स्वतन्त्रताको अभ्यासमा हुर्केको आजको समाजले जनताको मतभन्दा शाही इशारा ठूलो हो किमार्थ भन्न नसक्ने दाबी गरेका छन्।
गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गणतन्त्रमा हरेक नागरिकको आत्मसम्मान सुरक्षित रहेको र भइरहेको बताएका हुन्।
उनले भने,‘हिजो जनताले सिंहदरबार र नारायणहिटी, गेट बाहिरबाट हेर्थे, आज जनता त्यहाँभित्र पस्छन्। गणतन्त्र जनताको शासन हो, उनीहरूले चुनेका प्रतिनिधि त्यहीँबाट उनका लागि सेवा र शासन गर्छन्। हिजो रेडियोले समाचारका रूपमा हुकुम मात्र बजाउँथ्यो, आज, सामाजिक सञ्जालमा जनताका आवाज गुन्जिन्छन्।’
गणतान्त्रिक शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी, पूर्वाधारलगायतका क्षेत्रमा अतुलनीय उपलब्धिसहित परिवर्तन भएको उल्लेख गर्दै उनले गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन हामी सबै एक हुनुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीले भने, “सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलियो बनाउन लागेका छौँ। समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागिपरेका छौँ।”
उनले भने, “गणतन्त्र आउनुअघि देशको विकासका सूचकाङ्कहरु कहाँ थिए, आज कहाँ पुग्यो। गणतन्त्र आउनुअघि मानव विकास सूचकाङ्क कहाँ थियो, आज कहाँ पुग्यो। राजतन्त्र हुँदाका २५० वर्षमा कति विद्यालय थिए, कति अस्पताल थिए, अहिले कति पुगे। राजतन्त्रकालमा सडक कति किलोमिटर थियो, अहिले कति पुग्यो, गरिबी कति थियो, कति घट्यो, खानेपानी र बिजुलीको सुविधा कति जनतामा थियो र आज कतिमा पुग्यो। जनताको जीवनस्तर कहाँ थियो, अहिले कहाँ पुग्यो। यी सबैै उपलब्धि लोकतान्त्रिक गणतन्त्रबाट सम्भव भएको हो”
उनले भने, “आजको दिन, हाम्रा लागि विशेष दिन हो। वर्षौं लामो सङ्घर्ष, हजारौँ दिदीबहिनी दाजुभाइहरुको बलिदान र हामी सबैको अथक मेहनतबाट २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको दिन। त्यस ऐतिहासिक दिनको सम्झनामा आज हामी गणतन्त्र दिवस मनाइरहेका छौँ। गणतन्त्र– हामीले प्राप्त गरेका होइनौँ, अर्जन गरेका हौँ– हजारौं जनताको बलिदानबाट र त्यागबाट। मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौँ। हाम्रो समाजले हासिल गरेको त्यस गौरवपूर्ण दिवसको मूल्य हामीले कहिल्यै बिर्सनु हुँदैन, बिर्सने छैनौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।