काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा दोषी देखिएकाहरूलाई कडा कारबाही गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस धरान उपमहानगरपालिको सम्मेलनमा बुधबार थापाले अनुसन्धानको दायरामा नआएसम्म प्रशासनिक र राजनीतिक नेतृत्वलाई जिम्मेवार ठहर्याउनु उपयुक्त नहुने बताएका हुन्।
अहिलेसम्म प्राप्त जिम्मेवारी कुशलतापूर्वक निभाएको भन्दै थापाले गृहमन्त्री लेखक बेदाग हुनुहुन्छ भन्ने विश्वास रहेको बताए।
अध्यागमन विभाग गृह मन्त्रालयअन्तर्गतको निकाय भएकोले यो विषयमा गृहमन्त्री रमेश लेखकको नाम पनि जोडेर चर्चा–परिचर्चा भइरहेको भन्दै थापाले उनी बेदाग रहेको विश्वास आफूहरूलाई भएको बताए।
उनले भने, ‘विश्वास भन्दामाथि कानून र प्रमाण हुन्छ। अख्तियारले निष्पक्ष छानबिन गर्नुपर्छ भन्ने हाम्रो विश्वास रहन्छ। यो छानबिन गर्दै गर्दा त्यस्तो नहोस्, कथमकदाचित मन्त्री माथि नै छानबिन हुने अवस्था आयो भने के हुन्छ ? त्यस्तो अवस्थामा मन्त्रीले आफ्नो जिम्मेवारी छाड्नुपर्छ। जिम्मेवारीबाट अलग रहनुपर्छ र त्यो बेलामा गल्ती गरेको छ भने सजाय भोग्नुपर्छ, हाम्रो विश्वास छ त्यस्तो भएको छैन। तर विश्वास भन्दामाथि तथ्य र प्रमाण हुन्छ।’


‘राज्यको जिम्मेवारीमा रहेका अधिकारी तथा निकायहरूबाट अख्तियारको दुरुपयोग गरी भिजिट भिसाका नाममा सयौं नेपाली नागरिक ठगिएका, शोषणमा परेका सन्दर्भमा सार्वजनिक भइरहेका प्रकरणहरूले यो विषय कुन हदसम्म विकराल रहेछ र यसको जालो कहाँसम्म फैलिएको रहेछ भन्ने तथ्यले हामी सबैलाई स्तब्ध बनाएको छ,’ थापाले लेखकबारे भनेका छन्, ‘माननीय रमेश लेखकले विगतमा प्राप्त जिम्मेवारीहरू जसरी इमान्दारिता र कुशलतापूर्वक निर्वाह गर्दै आउनुभएको छ, गृहमन्त्रीको जिम्मेवारी पनि त्यसरी नै निर्वाह गरिरहनुभएको छ र अहिले उहाँमाथि उठेका प्रश्नहरूमा पनि बेदाग हुनुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास हो। तर हामीलाई थाहा छ (कानूनी राज्यमा कसैको विश्वास वा आग्रहभन्दा माथि तथ्य र प्रमाण हुन्छ।’
नागरिक सुरक्षा र संरक्षणको जिम्मेवारी लिएका राज्यका अधिकारीहरूकै मिलेमतोमा भएका यी हर्कतहरू गैरकानूनी र अमानवीय भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।