हेटौँडा – बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा २ सदस्य नियुक्त गरेको छ।
प्रदेश सरकारले सहकारी समस्या हल गर्न गठन गरेको सो समितिमा २ सदस्य थप गर्ने निर्णय सहित नियुक्त गरेको हो।
मंगलबार बसेको सरकारको मन्त्रिपरिषद् बैठकले धादिङ थाक्रे गाउँपालिका–११ का नेत्रराज पौडेल र रामेछापको मन्थली नगरपालिका–१ की निशा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन्।
उनका अनुसार ६ सदस्यीय उक्त समितिमा तत्कालीन सरकारले ३ जनालाई नियुक्त गरेको थियो भने एक महिला अनिवार्य गरेकाले हाल २ सदस्य नियुक्त गरिएको हो। विज्ञताका आधारमा एक जना चार्टड एकाउण्टेण्टलाई नियुक्त गर्न बाँकी रहेको उनले बताए।
प्रदेश सरकारको २०८० पुस २२ गते बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश सहकारी ऐन २०७६ को दफा ८२ को १ बमोजिम समिति गठन गरी ३ जना सदस्य नियुक्त गरिएको थियो भने फागुन ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सो समितिको कार्यालयका लागि आवश्यक विभिन्न तहका १४ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको थियो।
सो समितिले सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने काम गर्ने अधिकार रहेको छ। समितिलाई प्रदेश सहकारी ऐन २०७६ को दफा ८३ बमोजिमको काम, कर्तव्य र अधिकार रहने व्यवस्था छ। सो व्यवस्था अनुसार समितिले समस्याग्रस्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सक्ने अधिकार हुन्छ।
मन्त्रिपरिषद् बैठकले हेटौँडा अस्पतालको संक्षिप्त कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको छ। एक जना कर्मचारी पद मिलान गर्न दरबन्दी तेरिज स्वीकृत गरिएको मन्त्री लामिछानेले बताए।
बैठकले निजी वनको साल प्रजातिको रुख कटान तथा ओसार पसार अनुगमन सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले प्रदेश स्तरीय लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ स्वीकृत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।