काठमाडौँ – प्रेस सेन्टर नेपालले २३ वर्षअघि राज्यबाट हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस मनाउँदै छ। मंगलबार देशैभरी विभिन्न कार्यक्रम गरेर प्रेस सेन्टरले २३औँ सेन स्मृति दिवस मनाउन लागेको हो।
जनदिशा दैनिकको प्रधान सम्पादक रहँदा प्रहरीले २०५९ जेठ १३ गते पत्रकार कृष्ण सेनको हत्या गरेको थियो। उनको हत्या भएको दिन हरेक वर्षको जेठ १३ गतेलाई प्रेस सेन्टरले सेन स्मृति दिवसको रूपमा मनाउने गरेको छ।
सेन्टरको केन्द्रीय समितिले मंगलबार काठमाडौँमा २३औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ। सोमबार सङ्गठनका महासचिव मनोज घर्तीमगरले प्रेस नोट जारी गरेर केन्द्रीय समितिको आयोजना र उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशको सहभागितामा कार्यक्रम गर्न लागिएको जानकारी गराएका छन्।
काठमाडौँको बिजुलीबजारस्थित कृष्टल पार्टी भेन्यूमा बिहान ११ बजे आयोजित कार्यक्रम दुई चरणको हुने सङ्गठनले जनाएको छ।‘दुई चरणमा गरिने कार्यक्रमको पहिलो चरणमा कृष्ण सेन ‘इच्छुक’बारे प्रेस सेन्टर नेपालले तयार पारेको भिडियो सामाग्री प्रसारण गरिनेछ’, प्रेस विज्ञप्तिमा भनिएको छ।
दोस्रो चरणमा पिसिएन संवाद हुने र सो संवादमा ‘गणतन्त्र र समाजवादको यात्रा’ र ‘कृष्ण सेन ‘इच्छुक’ र जनपक्षीय पत्रकारिता’ बारे वक्ताहरूसँग संवाद गरिने सेन्टरले जनाएको छ। कार्यक्रममा प्रेस सेन्टर नेपालले प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कार घोषणासमेत गरिने महासचिव घर्तीमगरले जानकारी दिए।
प्रेस सेन्टरले काठमाडौँमा आयोजित कार्यक्रममा सहभागिताका लागि सङ्गठनका पूर्व अध्यक्ष तथा संयोजकहरू, संस्थापकहरू, पूर्व सल्लाहकार, पूर्वपदाधिकारी तथा सदस्यहरू, केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, समितिका पदाधिकारी तथा सदस्यहरू, उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेश, प्रदेश अन्तर्गतका जिल्ला समिति तथा शाखाका पदाधिकारी तथा सदस्यहरू, सङ्गठनका सदस्य, शुभेच्छुकहरू र सम्पूर्ण पत्रकारहरूलाई आग्रह गरेको छ।
महासचिव घर्तीमगरले प्रेस सेन्टरले प्रदेश समिति, जिल्ला तथा शाखा र पालिका समितिहरूबाट सेनको विचार, गणतन्त्रसहितको राजनीतिक परिवर्तन, जनपक्षीय पत्रकारिताका विषयलाई केन्द्रविन्दुमा राखेर विविध कार्यक्रम गरेर देशैभर २३औँ सेन स्मृति दिवस मनाइने जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।