काठमाडौं–उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका छन्।
उनीहरुले ७ दिनभित्र बैठक राख्न माग गरेका छन्।
सोमबार महानगरका ३९ जना कार्यपालिका सदस्यहरूको अनौपचारिक बैठकपछि मेयर साहसँग उनीहरुले यस्तो माग गरेका हुन। ४० सदस्य रहेको कार्यपालिकामा मेयर साह बाहेक सबैको उपस्थिति रहेको थियो।
कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक पुसदेखि बस्न सकेको छैन।
प्रमुखको काम, कर्तव्य र अधिकारमा पनि सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने उल्लेख छ। महानगरका प्रवक्ता नविन मानन्धरले ६ महिना देखि बैठक बस्न नसकेकाले तत्काल बैठक बोलाउन दबाब स्वरुप पत्र दिएको बताए।
बैठक माग गर्ने पत्रमा रास्वपाबाट निर्वाचित एक मात्र वडाध्यक्ष रोजिना श्रेष्ठले पनि हस्ताक्षर गरेकी छन्। उनी निर्वाचित भएपछि महानगरपालिकाको कार्यपालिका बैठक एक पटक पनि बस्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।