एजेन्सी –रुसले युक्रेनमा अहिले सम्मकै ठूलो हवाई आक्रमण गरेको छ । मस्कोको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसलाई कडा दबाब नदिएसम्म यस्ता आक्रमण नरोकिने बताएका हुन् । साथै जेलेन्स्कीले अमेरिकाको मौनताले राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन् ।
रुसले हालै युक्रेनमा ३६७ ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो । २०२२ मा पुटिनले पूर्ण–स्तरीय आक्रमण शुरू गरेपछि एकै रातमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।
रुसले युक्रेनमाथि अत्याचार गरिरहेको राष्ट्रपति जेलेन्स्कीले प्रतिक्रिया दिए । युक्रेनभरि व्यापक आक्रमणमा तीन बालबालिकासहित कम्तिमा १२ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ ।
यस्तै युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले रातभरको आक्रमणले रुस युक्रेनलाई पूर्ण रूपमा ध्वस्त पार्ने लक्ष्यमा रहेको देखाएको बताए । उनले रुसमाथि थप अन्तर्राष्ट्रिय दबाब दिन पनि आह्वान गरेका छन् ।
यसैबीच पछिल्लो तीन दिनमा दुवै पक्षले एकअर्कालाई तीन सयभन्दा धेरै सेना फिर्ता गरेका छन् । युक्रेनी अधिकारीहरूले रुसी कैदबाट फर्किएका धेरैलाई यातना दिइएको र खानाबाट समेत वञ्चित गरिएको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।