काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताउँदै कार्यकर्तालाई सोही अनुसारको निर्देशन दिएका छन्।
नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वाग्मती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीको नाममा आतङ्क मच्चाउनेलाई कुनै स्थान नदिइने स्पष्ट पारेका हुन्।
प्रशिक्षण सकिनासाथ १५ गतेका लागि तयारी थाल्न उनले कार्यकर्तालाई भनेका छन्।
‘म साथिहरूलाई आग्रह गर्न चाहन्छु। निर्देशन पछि आउँछ। तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुहोला। जतिबेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुस्। प्रशिक्षण सकिएपछि १५ गतेमा ध्यान दिनुस्,’ प्रधानमन्त्री ओलीले भने।
राजावादीहरू कुनै महान उद्देश्यका लागि नलडेको बताउँदै उनले सरकार मौन भएको बेलालाई फाइदा लिएर उनीहरू अनावश्यक फूर्ति गरिरहेको बताए।
‘यिनिहरू कुनै महान उद्देश्यका लागि लडिरहेका छैनन्। साना स्वार्थका लागि सरकार अलि मौन बसेको, जनता अलि मौन बसेको अवस्था हो। त्यो अवस्थाको फाइदा लिएर यिनिहरूले अनावश्यक फूर्तिफार्ति देखाएका छन्,’ प्रधानमन्त्री ओलीले भने।
‘त्यसकारण हामीले आफूलाई बुझ्नुपर्यो। आफूलाई चिन्नुपर्यो। आफूलाई त्यस अनुसार तयार राख्नुपर्यो। निर्देशन पछि आउला, १५ गतेका लागि भोलि उठ्नेबित्तिकै १५ गतेको तयारी थाल्नुस्। १५ गते के के गर्नुपर्छ भन्ने पार्टीले भन्छ,’ ओलीले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।