काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सरकारको यो निर्णयसँगै पौडेल १८औं गभर्नर बनेका छन् ।
उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । मंगलबार बसेको सिफारिस समितिको बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद खाली छ । गभर्नर नियुक्तिमा ढिलाई हुने देखिएपछि अर्थ मन्त्रालयले कामु गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिएको थियो ।
गभर्नर नियुक्तिको विषयमा दुई महिनादेखि सत्तारुढ दल कांग्रेस र एमालेका निम्ति पेचिलो विषय बनेको थियो । कतिसम्म भने किचलो बढदै जाँदा चैत ११ गते गभर्नर सिफारिस समिति गठन भएपछि यसका दुई सदस्यले फरक-फरक समितिमा राजीनामा दिएका थिए । वैशाख ९ मा समिति सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईद्वारा राजीनामा दिएका थिए । आफूलाई गभर्नर बन्न प्रस्ताव आएपछि वैशाख २८ मा विश्व पौडेलले समिति सदस्यबाट राजीनामा दिएका थिए । वैशाख ३१ मा अर्थमन्त्री पौडेलले सिफारिस समिति नै पुनर्गठन गठन गरेर समिति सदस्यमा पोषराज पाण्डे नियुक्त गरेका थिए ।
गभर्नरमा नियुक्त पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका थिए । काठमाडौं विश्वविद्यालयका अध्यापकसमेत रहेका उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव पनि छ ।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर १ मा कांग्रेसबाट उम्मेदवार बनेका थिए ।चितवन-१ मा रास्वपाका हरि ढकाल ३४ हजार २ सय १८ मतसहित विजयी भएका थिए । दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याएका थिए । पौडेल भने तेस्रो स्थानमा रहँदै २४ हजार ९ सय ९० मत ल्याए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।