एजेन्सी – रोमानियामा भएको राष्ट्रपति पदको निर्वाचनमा लिबरल पार्टीका निकोसोर डान निर्वाचित भएका छन् । गत वर्ष भएको निर्वाचन रुसी हस्तक्षेप भन्दै खारेज भएको भन्दै रोमानियाका आक्रोशित मतदाताले पहिलो चरणमा अति दक्षिण पन्थी एयुआर पार्टीका जर्ज साइमनलाई जिताएका थिए ।
अन्तिम चरणको निर्वाचनमा नरम बोली भएका डानले ५५ प्रतिशत मत पाउँदै पहिलो स्थानमा आफूलाई सुरक्षित गरेका हुन् । जितपछि सम्बोधन गर्दै उनले मतदानको दौरान जे भए पनि अब सबै मिलेर रोमानियालाई अघि बढाउनु आवश्यक रहेको बताए ।
आइतबार भएको निर्वाचनमा एक करोड १६ लाखले मतदान गरेका थिए । यी मध्य ६० लाख मत पाएपछि डानको राष्ट्रपति पद पक्का भएको हो । उनले पाएको मत सङ्ख्या राष्ट्रपति हुनका लागि पर्याप्त भएपछि राति नै विजय जुलुस निकालिएको छ ।
निकोसोर युक्रेनलाई सहयोग जारी राख्ने पक्षमा छन् भने साइमन युक्रेनलाई गरेको सहयोग रोक्का गर्ने पक्षमा छन् । ‘रसिया नबिर्स । रुस तिमीहरूको होइन, ‘विजय जुलुसमा नारा लगाइएको थियो ।
गत वर्ष भएको पहिलो चरणको निर्वाचनमा कालिन जर्जेस्कुले सफलता पाएका थिए । सो निर्वाचनमा रुसी हस्तक्षेप भएको भन्दै परिणाम खारेज हुनुका साथै उनलाई फेरि उम्मेदवार हुन बञ्चित गरिएको थियो । उनको समर्थन यस पटक साइमनलाई थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।