नयाँ दिल्ली–आइतबार बिहान हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसमा आगलागी भएको छ।
दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ।
मर्नेमा केही बालबालिका पनि भएको बताइएको छ। भवनबाट १० देखि १५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। केही मानिसहरू अझै पनि घरभित्रै फसेको र उद्धार कार्य जारी रहेको खबर आएको छ।
आगलागीको कारण शर्ट सर्किट भएको बताइएको छ। तर यसको आधिकारिक रूपमा पुष्टि भएको छैन। बिहान करिब ६ः३० बजे आगलागीबारे दमकल विभागलाई जानकारी गराइएको थियो। त्यसपछि टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो। धेरै मानिसहरू अचेत अवस्थामा फेला परेका थिए र लगभग १० जनालाई अस्पताल भर्ना गरिएको छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ।
मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूलाई तत्काल उपचार उपलब्ध गराउन निर्देशन दिएका छन्। सोही समयमा, केन्द्रीय मन्त्री जी. किशन रेड्डी र एआईएमआईएमका विधायक मुमताज अहमद खान घटनास्थलमा पुगेर स्थितिको जानकारी लिएका थिए। प्रधानमन्त्री मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
‘हैदराबाद आगलागी घटनामा मृत्युको खबरले गहिरो दुःखमा छु। आफ्ना प्रियजन गुमाएकाहरूप्रति समवेदना। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना।’ पीएमओले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लेखेको छ। प्रधानमन्त्री राहत कोष बाट मृतकका परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ र घाइतेलाई प्रतिव्यक्ति ५०,००० रुपैयाँ दिइने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।