एजेन्सी –इजरायली सेनाले आइतबार बिहान गाजामा गरेको आक्रमणमा कम्तीमा ७२ जना प्यालेस्टिनीको ज्यान गएको छ । मारिनेहरूमध्ये ३६ जना गाजाको दक्षिणी क्षेत्र अल–मावासीमा थिए, जुन क्षेत्रलाई पछिल्लो समय ‘सुरक्षित क्षेत्र’ भनिएको थियो ।
गाजाको उत्तरपूर्वी क्षेत्र जाबालिया अन–नाजलामा पनि इजरायले आक्रमण गरेको छ । त्यहाँ आक्रमणमा कम्तीमा १० जना प्यालेस्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।
अल–जजिरा अरबीले स्थानीय स्रोत उद्धृत गर्दै जाबालियाको एक घरमा आक्रमण हुँदा केही व्यक्तिको ज्यान गएको र केही घाइते भएको जनाएको छ ।
यसैगरी, गाजाको केन्द्रीय क्षेत्र डिर अल–बलाहमा गरिएको अर्को इजरायली आक्रमणमा मारिनेको संख्या पनि २ बाट बढेर ३ पुगेको छ ।
इजरायलले गाजामा पुनः भौमिक आक्रमणको तयारी थालेसँगै हमाससँग कतारमा युद्धविरामबारे वार्ता पनि पुनः सुरू भएको छ । उता गाजामा आक्रमण थप तीव्र पारिएका छन् ।
यसैबीच, बग्दादमा भेला भएका अरब नेताहरूले गाजामाथिको इजरायली आक्रमण अन्त्य गर्न आह्वान गरेका छन् र घेराबन्दीमा परेको गाजामा मानवीय सहायता पुर्याउन विश्व समुदायसँग अपिल गरेका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म कम्तीमा ५३ हजार २७२ जना प्यालेस्टिनी मारिएका छन् भने १ लाख २० हजार ६७३ जना घाइते भएका छन् ।
गाजाको सरकार सञ्चालित सञ्चार कार्यालयले भने यो संख्या ६१ हजार ७०० नाघिसकेको बताएको छ । भग्नावशेषमा हराइरहेकाहरूलाई मृत घोषणा गरिएकाले मृतक संख्या अझै बढ्ने अनुमान छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।