काठमाडौँ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको बताएका छन्।
आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने काममा आफूहरू लागिरहेको बताए।
उनले भने, ‘ससाना टुक्रामा छरिएका समूहहरुलाई एकताबद्ध बनाउँदै पनि गयौं । कोही एकताबद्ध भए, कोही भएनन् । कोही एकताबद्ध भएर पनि बीचैमा छाडेर पनि गए । यस्तो भइरहन्छ । त्यसैले आत्तिने काम गर्नुहुँदैन । आफ्नो विचार ठीक छ कि छैन भन्ने आत्मविश्वास हुनुपर्छ । त्यही शक्तिमा एकताबद्ध बनाउन जुट्नुपर्छ । विचार, दृष्टिकोण र धारणा मिल्नेहरुसँग हातेमालो गर्नुपर्छ, मोर्चा बनाउनुपर्छ । सहकार्य गर्नुपर्छ । सम्भव हुन्छ भने पार्टी एकता पनि गरेर जानुपर्छ ।’
त्यस्तै आफ्नो अडान र विचारमा आत्मविश्वासी भएर अघि बढ्न जरुरी रहेको भन्दै उनले विचार, दृष्टिकोण मिल्नेहरूसँग हातेमालो गर्न मोर्चा बनाएर जानुपर्ने बताए। उनले सम्भव भए पार्टी एकता गरेर जानुपर्नेमा जोड दिए।
अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीको विचार र सिद्धान्तबाट विचलित नभईकन सबै खालका विकृति, विसङ्गतिसँग जुधेर इमानदार कम्युनिस्टको रूपमा अघि बढ्न जरुरी रहेको बताए।
अध्यक्ष नेपालले मदन भण्डारीको नेतृत्वमा पनि धेरै समूहलाई एकताबद्ध गर्ने काम भएको स्मरण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।