काठमाडौं–प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैरआवासीय नेपाली संगठन (एनआरएनए) लाई दलीय हितमा प्रयोग नगर्ने बताएका छन्।
बुधबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले गैरआवासीय नेपाली संगठनलाई एमालेले डायस्पोरा र देशको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाए।
‘विधि सम्मत क्रियाकलापमा सरकारको सधैँ साथ रहन्छ। मेरो पनि साथ रहन्छ। नेकपा एमाले जसको अध्यक्ष म छु, त्यस पार्टीको पनि विधिसम्मत कुरामा साथ रहन्छ,’ अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेले गैर आवासीय नेपाली संगठनलाई आफ्नो हितमा, दलीय हितमा प्रयोग गर्नेछैन। डायस्पोराको हितमा र देशको हितमा प्रयोग गर्नेछ।’
उनले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरु देखापर्नु उचित नहुने भनाइसहित सङ्कीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गरे।
“आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने यस किसिमको साझा संस्थामा विवाद हुनु राम्रो होइन। व्यक्तिका लागि विधान फेर्ने ढङ्गले संस्था चल्न सक्दैन। यसमा विवेक र तर्कले काम गरोस्। व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रुपमा यो विकास नहोस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट तपाईंहरु विचलित हुनहुँदैन। यसमा दलीय राजनीति गर्नुहुँदैन र यसमा विभाजनको प्रयास सफल हुँदैन। विधिसम्मत कुरामा नेपाल सरकारको साथ रहनेछ।”
एनआरएन महाधिवेशनमा यसअघि भएको अर्मादित र अभद्र गतिविधिबाट समाजमा राम्रो सन्देश नगएको उल्लेख गर्दै उनले विधि प्रक्रियासहित लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गरी अघि बढ्न गैरआवासीय नेपाली समुदायसँग अनुरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।